Thursday, May 7, 2015

सञ्चार समिक्षा आवश्यक

Ajay Sharma
- अजय शर्मा
आम सर्वसाधारणहरुको हक अधिकारकोे पहरेदारी गर्नु र इतिहास निर्माणको महत्वपूर्ण समयको अभिलेख राख्नु, समय सन्दर्भको साक्षी बस्नुका साथै समाजमा घट्ने घटनाहरुको समिक्षा गर्नु आमसञ्चार क्षेत्रको काम कर्तव्य हो ।  पत्रपत्रिका तथा विद्युतिय सञ्चारमाध्यले पस्कने समाचार, लेख रचना, विचार लगायतका सामग्रीहरुले पाठकलाई दिग्भ्रमित त पारिरहेका छ्रैनन् ? एक पटक विचार गर्ने हो की (?) समाजका अनेक पक्षहरुलाई केलाएर सञ्चारमाध्यममा दिनहँु पस्किने सामग्रीहरु कति हदसम्म गुणस्तरीय छन् भन्ने विषयमा स्वतन्त्र कोणबाट चर्चा, परिचर्चा तथा स्वतन्त्ररुपमा समिक्षा हुनुपर्छ ।
यसका साथै कुन सञ्चारमाध्यम कति सफल वा असफल भन्ने मापन गर्नु जरुरी देखिन्छ तर उक्त मापन परम्परागत मापदण्डमा आधारित भएर भने होइन ।  पत्रपत्रिकाको सम्परीक्षण र वर्गीकरण गर्ने काम विज्ञापनदाता, प्रकाशक र सञ्चार उपभोक्ताहरू सम्मिलित स्वतन्त्र निकायलाई जिम्मा लगाउनुपर्छ । वर्गीकरण गर्दा व्यवसायिकताका नाममा नाफा र विक्रिको मापदण्डभन्दा पनि समाजलाई कस्तो सामग्री दिइरहेको छ त्यसका आधारमा वर्गिकरण हुनु जरुरी छ । विक्रि तथा नाफा भनेको त व्यापारमा मात्र प्रयोग हुने मापदण्ड हो । लुकिछिपी पढ्ने सामग्रीहरु बजारमा निकै विक्रि हुन्छन् के त्यस्ता सामग्री भएका पत्रपत्रिकालाई सर्वश्रेष्ठ भन्ने हो त ? होइन भने वर्गिकरण गर्दा कुन सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भएका समाग्रीले समाजमा के कस्तो प्रभाव पारेका छन् भन्ने समिक्षा हुनु नितान्त आवश्यक छ ।
पत्रकारलाई राष्ट्को चौथो अड्गका रुपमा व्याख्या गर्ने गरिन्छ । समय समयमा प्रेस स्वतन्त्रताका लागि बहस हुने गर्दछन् । तर के नेपाली पत्रपत्रिकाहरुले सही रुपमा समाचार सप्रेषण गरेका छन् त त्यस तर्फ न नागरिक समाजको ध्यान गएकोछ नत सञ्चारमाध्यमहरुलाई निर्देशित गर्ने निकायको नै । सही सूचना पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले दिग्भ्रमित पार्ने खालका प्रायोजित सूचनाबाट नागरिकले कसरी उन्मुक्त हुने भन्ने विषय अहिले पाठकले प्रश्न गर्न थालेका छन् ।
सञ्चारमाध्यममा एउटा नेता अथवा एकै विषयवस्तुको समाचार हेर्ने हो भने हरेक सञ्चारमाध्यमले भिन्न तरिकाले समाचार दिइरहेको भेटिन्छ । व्यापारिकरण तथा प्रतिस्पर्धाका नाममा नेपाली सञ्चारमाध्यम सही समाचार भन्दा पनि बेसि, कसरी समाचारलाई बजारमा विक्रि गर्न लायक बनाउने र पाठकको ध्यान तान्ने भन्ने मानसिकताबाट ग्रसित छन् । कुनै नेताले भनेको भनाई कोटगर्दा समेत भनाई लाई जस्ताकोतस्तै राख्नु पर्नेमा आफ्नो अनुकुल काटछाट गरेर पाठक सामु पस्कने गरिएको भेटिन्छ । पाठकलाई सही समाचार दिनभन्दा कोही व्यापारमुखि त कोही दलमुखि भएका कारण यसप्रकारका विचलन सञ्चारमाध्यममा देख्न, सुन्न र हेर्न पाइन्छ ।
सञ्चारमाध्यमहरुमा विदेशी लगानी हुनुपर्छ वा हुनुहुन्न भन्ने बहस नेपाली बौद्धिक वृत्तमा विगतमा लामो समयसम्म चलेको विषय हो । एक दृष्टिकोणबाट हेर्दा तथा व्यापारिक मनोवृत्ति भएका व्यक्तिहरुबाट समेत सञ्चारमाध्यममा लगानी बढ्नाले पनि यो क्षेत्रमा सही सूचना सप्रेषण भन्दा पनि कताबाट लाभ हुन्छ भन्नेतर्फ ठुला मिडिया हाउस लागेका हुन् की भन्ने प्रश्न उब्जिन्छ ।
व्यापारमुखि सञ्चार क्षेत्रले समाजको पहरेदारी कम र नाफालाई बढि प्राथमिकता दिने प्रवृतिका कारण समेत नेपाली मिडियाहरुमा बेलामौकामा कहिले विदेशमुखि त कहिले पार्टीमुखि भएको आरोप लाग्ने गरेको छ भने सही समाचार सप्रेषण गर्ने सञ्चारमाध्यमहरु लाई समेत आफ्नो विरुद्धमा लेखेको भरमा कुनै शक्तिको पुजारी भएको विल्ला भिराउन नेता गणहरु तयार भएका देखिन्छन् ।
नेपाली सञ्चार क्षेत्रले गरेको विकासलाई ऐतिहासिक विकास भन्न सकिन्छ । प्रजातन्त्रको स्थापनापछि, अझ भनौ २०६२ । ०६३ जनआन्दोलनको सफलता पछिका दिनहरुमा सञ्चार क्षेत्रमा व्यापक बृद्धि भएको छ । छिमेकी मुलुक चीन, भारत, भुटान, बंगलादेश, पाकिस्तान आदि देशहरुको अनुपातमा नेपालमा आमसञ्चार क्षेत्रको उल्लेख्य विकास भएको छ । तर यी मुलुकहरुमाभन्दा नेपालका सञ्चार माध्यमहरुमा स्वतन्त्रताका नाममा स्वछन्दता देखिने गरेको छ ।
कुनै पनि राज्य सञ्चालनको आफ्नो नीति नियम हुन्छ नै, त्यसमा पनि सञ्चारमाध्यममा के कस्ता सामाग्रीको प्रकाशन तथा प्रसारण गर्ने र त्यसअनुरुप विर्गिकरण गर्ने भन्ने नीति तथा निकायको स्थापना गरिएको हुन्छ । विश्वमा सञ्चारमाध्यमहरुको संख्या दिन प्रतिदिन बढ्दो छ तर विना आधार वा भनौ विना प्रमाण भएका सामाग्री कुनै पनि सञ्चार माध्यमले विषेश खोजमुलक मुद्दा उठाएको छ भने उक्त मुद्दालाई छानविन गर्नु छानविन समिति तुरुन्त गठन गर्ने प्रचलन रहेको छ । हाम्रोजस्तो देशमा जे लेखे पनि हुन्छ । काग कराउदै जान्छ पिना सुक्दै जान्छ भन्ने गरिन्छ । यहाँ कुनै छानविन हुँदैन, भयो भने पनि आयोग गठन गरिन्छ र उक्त मुद्दा राजनीतिक दलको आडमा दवाईन्छ ।
नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक देश भएकाले परम्परागत मूल्य र मान्यतामा आधारित हुँदै सञ्चालन भएका नेपाली मिडियाले समावेशी र सामाजिक न्यायका पक्षमा उभ्याउनै पर्ने भएको छ भने आमसञ्चार निष्पक्षता, वस्तुनिष्ठता, सत्यता र सन्तुलनको सन्दर्भमा नयाँ नेपालको लोकतान्त्रिक सँस्कृति अनुकूल हुने प्रणाली लाई अझ ठोसरूपमा परिमार्जित र विकसित गर्न आमसञ्चार लाग्नुपर्छ । आसञ्चारमाध्यमलाई लोकतन्त्र र जनआन्दोलनको भावना विपरीत कसैबाट पनि प्रयोग हुनु हँुदैन । राष्टियताको सन्र्दभमा सञ्चारमाध्यम एक ढिक्का हुनु जरुरी छ भने पत्रकारिताको आधारभूत सिद्धान्त एबीसी (शुद्धता, सन्तुलन, विश्वसनीयता) को जगमा रहेर समाचार, लेख, रचना तथा सञ्चार सामग्रीको प्रकाशन प्रसारण गर्ने हो की   आमसञ्चारमाध्यमको गुण र दोषका आधारमा समिक्षा गर्न स्वतन्त्र उच्चस्तरीय आयोगको आवश्यकता देखिन्छ ।
***

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology