Saturday, December 24, 2011

सामाजिक सञ्जालको लोकपिरयता

सामाजिक सञ्जालको लोकपिरयता
अजय शर्मा
 
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको प्रयोगले विश्वमा बढ्दो लोकपि्रयता पाएको छ । सामाजिक सञ्जालहरूको गलत प्रयोगका समाचार, घटना सुनेर वा भोगेर आजित भएका हामीहरूका लागि सामाजिक सञ्जालहरूको सही प्रयोग सामाजिक आन्दोलनमा समेत हुन सक्छ भन्दा पत्यार नलाग्न सक्छ ।
सामाजिक सञ्जालहरूबाट सुरुभएका वालस्टि्रट कब्ज्जा आन्दोलन होस् वा छिमेकी मुलुक भारतमा अन्ना हजारेले चलाएको भ्रष्टाचार विरुद्धको आन्दोलन यी उदाहरणले सामाजिक सञ्जालको प्रयोग सहीरूपमा हुन सकेमा के कस्ता परिणाम दिन सक्छन् सहजै अनुमान गर्न सकिन्छ । वैज्ञानिक आविष्कार होस् वा प्रयोग सहीरूपमा हुन सकेमा सामाजिक परिवर्तनको सम्बाहक हुन पुग्छन् भने गलत प्रयोगबाट समाजिक संरचना नै भताभुङ्ग पार्छन् । फेसबुक, ट्वीटर, गुगल प्लस लगायतका सामाजिक सञ्जालहरूको प्रयोगबाट विश्वमा सामाजिक तथा राजनीतिक आन्दोलनलाई मलजल गर्न सहयोगी मात्र छैनन्, समाजका विकृति विरुद्ध आवाज समेत उठन प्रयोग भैरहेका छन् ।
फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल, ब्लग र युट्युव जस्ता साइटहरूको कतिसम्म शक्ति हुँदो रहेछ इजिप्टमा भएको आन्दोलनले देखाएको छ । फेसबुकमा एउटा ग्रुपको निर्माण गरेर इजिप्टमा आन्दोलनको शङ्खघोष गरिएको थियो । राष्ट्रपति होस्नी मुवारकको ३० वर्षे लामो शासन को अन्त्यको माग गर्दै आन्दोलनमा होमिएका थिए । उक्त फेसबुकको ग्रुपमा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्य थपिएका थिए । तिनै ग्रुपका सदस्यहरूले पहिलो पल्ट राजधानी सहर कायरोमा आन्दोलनको सुरुवात गरेका थिए । १८ दिनको लगातार आन्दोलनपछि, बाध्य भएर राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिए । उक्त आन्दोलन टुङ्गियो र संसारभर फेसबुक, ट्वीटर र युट्युव जस्ता साइटमा विजय उत्सव मनाइयो ।
सामाजिक सञ्जालबाट सामाजिक आन्दोलन र विरोधको उदाहरण खोज्न हामी इजिप्टसम्म पुग्नु पर्दैन । केही महिना अघि नेपालमा समेत फेसबुक प्रयोगकर्ताहरूले संविधानसभा वानेश्वरमा संविधान निर्माणमा ढिलासुस्ति भएकोमा प्रर्दशन गरेका थिए । साथै फेसबुक, ट्वीटरमा समेत विभिन्न पक्ष विपक्षमा राजनीतिक बहस चल्ने गरेको पाइन्छ । कुनै राजनीतिक क्रियाकलाप वा घटना भएमा नेपाली फेसबुक, ट्वीटर, गुगल प्लस लागयतका सामाजिक सञ्जालहरूमा बहस र समाचार अपडेट गर्ने प्रवृत्ति बढेको छ । हिजो आज मानिसहरू इमेल ठेगानाभन्दा पनि सामाजिक सञ्जालका ठेगाना सोध्ने र माग्ने प्रचलन बढेको छ ।
साँच्चै भन्ने हो भने सामाजिक सञ्जालहरूको प्रयोग सही तरिकाले गर्न जान्ने हो भने सामाजिक परिवर्तनमा ठूलो भूमिका हुन्छ । ब्लग, ट्विटर र फेसबुक मार्फत केही समय अघि सिएनएन हिरोका लागि लाखौँ नेपाली जनताले अनुराधा कोइरालाका लागि भोट मागिएको थियो । फलस्वरूप कोइराला सिएनएन हिरो चयन भइन् ।
नेपालमा १९ दिने जनआन्दोलन हुँदा ट्विटर र फेसबुक थिएनन् यदि भएको भए नेपालमा पनि त्यसको प्रयोग अत्यधिक रूपमा हुन्थ्यो होला तर जनआन्दोलनको समयमा सामाजिक सञ्जालको प्रयोग नभए पनि केही ब्लगहरूबाट जनआन्दोलनका समाचार अपडेड भएको थियो र त्यतिबेला ब्लग वेव साइटहरूले निकै ठूलो भूमिका खेलेका थिए ।
सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्वमै गुगल पछि धेरै हेरिने साइटमा पर्छ । जसरी फेसबुक मानिसहरूको लागि पि्रय र अनिवार्य बन्दै गएको छ- सँगै फेसबुकको दुरूपयोग समेत बढ्दै गएको छ । प्रयोगको सीमा नभएकैले यसको दुरूप्रयोगलाई छेकबार गर्ने क्षमता पनि कसैसँग छैन । एउटाको नाम हालेर अर्कैले फेसबुकमा एकाउण्ट खोल्नेहरूको सङ्ख्या कम छैन । एकातिर मानिसहरूको अभिन्न अङ्ग बन्दै गएको छ भने अर्कातिर फेसबुकमार्फत् मानिसलाई झुक्याउन लागिपर्नेहरूको भीड पनि कम छैन । फेसबुकको प्रयोग गरेर अर्काको मानमर्दन गर्नेहरू पनि छन् ।
नेपालमा फेसबुक चलाउनेको सङ्ख्या १४ लाख ३४ हजार नाघिसकेको छ । नेपालमा ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिलाले फेसबुकको प्रयोग गर्छन् । नेपालमा फेसबुक चलाउने १६ देखि १७ उमेर समूहमा १० प्रतिशतले र सबैभन्दा बढी १७-१८ देखि २८ वर्षका युवाले २८ प्रतिशत अर्थात सबैभन्दा बढी फेसबुक चलाउछन् । विश्वमा फेसबुक चलाउने मुलुकमध्ये नेपाल ६८ औँ स्थापनमा पर्छ फेसबुकको तुलनामा ट्वीटर चलाउनेको सङ्ख्या अत्यधिक कम रहेको छ ।
फेसबुकले नयाँनयाँ साथी बनाउन र पुराना साथीसँग भेट गराउन मद्दत गर्ने भएकाले यो बच्चादेखि वृद्धसम्मका लागि लोकपि्रय बनेको छ । अहिलेका युवा पुस्ताका लागि त फेसबुक ढुकढुकी नै भएको छ तर फेसबुकको विश्वव्यापी प्रयोग यति प्रभावकारी छ कि प्रहरी र सर्वसाधारणले सम्भावित अपराधी पक्रन फेसबुकलाईसमेत गतिलो माध्यम बनेको उदाहरण थुप्रै छन् ।
विश्वभरि फेसबुक, ट्वीटर, गुगल प्लस लगायतका सामाजिक सञ्जालहरूको चर्चा तथा प्रयोग भइरहँदा सिरिया, चीन, इरान, भियतनामजस्ता देशहरूमा भने सुरक्षा तथा अश्लललताको कारण प्रतिबन्ध गरिएको छ । हालसालै भारतमा सामाजिक सञ्जालहरू मार्फत् गैरकानुनी क्रियाकलाप संचालन भैरहेको भन्दै भारत सरकारले यी साइटहरू उपर प्रत्यक्ष निगरानी गर्न सामाजिक सञ्जाल निर्देशिका जारी गर्न लागेको छ । यसैगरी नेपालमा समेत प्रतिष्ठित व्यक्तिहरूका नक्कली -इम्पोस्टर) एकाउन्टबाट चरित्र हत्या गर्ने तथा सामाजिक व्यवस्थामा खलल पार्ने खालका सामग्री प्रकाशन गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा नेपाल सरकारले समेत छिट्टै सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण हुने सामग्रीमाथि निगरानी तथा कानुनको दायरामा ल्याउन सामाजिक सञ्जाल निर्देशिका निमार्ण गर्न लागेको जनाएको छ ।
समाजमा विकृति उत्पन्न गर्ने तथा कानुनी व्यवस्था कायम गर्ने कार्यमा बाधा उत्पन्न गर्ने कुरालाई निगरानी गर्नु एक अर्थमा सकारात्मक रूपमा लिनुपर्छ तर सूचना प्रविधिको युगमा व्यक्तिगत स्वतन्त्रता ठाडो हस्तक्षेप राज्यका तर्फबाट हुनुहुँदैन । आजको युग एक ग्रामकारूपमा विकास भैरहेको
छ । विश्वको कुन कुनामा के भयो भन्ने कुरा हामी माउसको एक क्लिकमा थाहा पाउने अवस्था नेपालमा समेत विकास भएको छ ।
समाजका विकृति, कुरीतिका पक्षमा सामाजिक आन्दोलनका लागि सामाजिक सञ्जालहरूले अभिमत सिर्जनामा खेलेको भूमिकालाई नकार्न सकिन्न । सामाजिक सञ्जालहरूको प्रयोग सामाजिक तथा राजनीतिक मुद्दाका आन्दोलनमा प्रयोगलाई जनमत सिर्जनाका लागि प्रयोग भैरहेको सन्र्दभमा तथाकथित बुर्जुबा चिन्तन भएका शासकहरू झस्किएका मात्र होइन अतालिएका छन् । विश्वमा सामाजिक सञ्जाल आन्दोलनको अभिन्न अङ्गकोरूपमा गतिलो हतियारका रूपमा प्रयोग
भैरहदा नेपालमा समेत भविष्यमा हुने सामाजिक तथा राजनीतिक आन्दोलनहरूमा सामाजिक सञ्जालको प्रयोगको सम्भावनलाई नकार्न सकिन्न ।
 

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology