Friday, August 26, 2011

बालबालिकाका लागि सूचना सञ्जाल:अजय शर्मा


० अजय शर्मा 
इन्टरनेट -सूचना सञ्जाल) भनेको विभिन्न सूचनाहरूको जालो हो, जहाँ हामी विभिन्न खालका सूचना प्राप्त गर्न सक्छौँ । अघिल्लो अंकमा हामीले भाइबहिनीहरूलाई गुगल सर्चमा कसरी सूचना खोज्ने ? भन्ने जानकारी गराइसकेका छौँ । यस पटक भाइबहिनीलाई अत्यन्त उपयोगी र ज्ञानवर्धक केही इन्टरनेट वेवसाइटहरूको बारेमा जानकारी दिने कोसिस गरिएको छ ।
आजकाल अधिकांश सहरिया बालबालिकाहरू इन्टरनेटको पहँुचमा पुगिसकेका छन् । कतिपय ग्रामीण क्षेत्रमा पनि इन्टरनेट पुर्याउने लक्ष्य लिइएको छ । अहिलेको युगलाई कम्प्युटर अनि सूचना र प्रविधिको युगका रूपमा बुझिन्छ । सूचना प्राप्त गर्ने सजिलो माध्यमका रूपमा इन्टरनेटलाई लिइन्छ । कम्प्युटरमा बसेर सजिलै आफूलाई चाहिएका जानकारीहरू इन्टरनेटको माध्यमबाट पाउन सकिन्छ । इन्टरनेट सबैका लागि त्यत्तिकै उपयोगी सिद्ध भएको छ ।
अब बालबालिकालाई उपयोगी हुने केही इन्टरनेट वेवसाइटहरूको चर्चा गरौँ । बालबालिकाका लागि निर्माण गरिएका नेपाली वेवसाइटमध्येको एक हो बालसंसारडटकम Balsansar.com बालसंसारडटकम नेपाली वेवसाइट हो, जसमा बालसाहित्य अन्तर्गत इसपका कथा, पञ्चतन्त्रका कथा, वौद्ध कथा, चिनियाँ कथा, आफन्तीका कथा, प्रसिद्ध लोककथा, प्रेरक कथाका बालबालिकाका सिर्जनाहरू हेर्न र पढ्न पाउने छौं । यस वेवसाइटमा अंगे्रजी तथा नेपाली कथाका साथै कविता, पुस्तक निःशुल्कमा पढ्न र डाउनलोड -सेभ) गर्न सकिन्छ । साथै यस वेवसाइटबाट बजारमा आएका नयाँ-नयाँ पुस्तकहरुको जानकारी पनि पाउन सकिन्छ । वालसंसारडटकममा वालवालिकाका विचार, चिठ्ठी र गुनासो समेत राखिएको हुन्छ ।
पुस्तकालयडटकम Pustakalaya.com पनि नेपाली वेवसाइट नै हो । यस वेवसाइटमा विभिन्न अंग्रेजी तथा नेपाली साहित्यका साथै पत्रपत्रिकाहरू सित्तैँमा पढ्न र डाउनलोड गर्न सकिन्छ । साथै यस वेवसाइटमा बालबालिकाका लागि सयौँ सङ्ख्यामा बालपत्रपत्रिका, अंग्रेजी बालसहित्यहरू पाउन सकिन्छ ।
बालबालिकाका लागि अर्को उपयोगी वेवसाइटको नाम हो दिकिड्ज्पेजडटकम Thekidzspage.com
। यस वेवसाइटमा सयभन्दा बढी गेम, पजल, कलर पेजहरू रहेका छन् । दिकिड्ज्पेजडटकम बालबालिकाका लागि मात्र नभई शिक्षक तथा अभिभावकका लागि समेत उपयोगी साइट रहेको छ । फुर्सदको समयमा गेम, पजल तथा कलरमा रमाउन चाहने भाइबहिनीका लागि यो निकै रमाइलो साइट हो ।
लर्न फोर गुड Learn4good पनि अत्यन्तै उपयोगी वेवसाइट रहेको छ । यस वेवसाइटमा कलर पेज, सङ्गित सिकाई, पजल गेम, भाषा सिकाइ, गणित सिकाइ, विज्ञान सिकाइ, खेलकुद सिकाइ, स्वास्थ्यसम्बन्धी जानकारीहरू समावेश गरिएको छ । यस वेवसाइटमा बालवबालिकाहरूका लागि अनलाइन गृहकार्य समेत दिइन्छ ।
भाइबहिनीहरू यहाँ चर्चा गरिएका वेवसाइटहरू केही उपयोगी उदाहरणमात्र हुन् । यी वेवसाईट चलाउँदा अनिवार्यरूपमा शिक्षक तथा अभिभावकको सहयोग लिन भने नबिर्सनु ।
१२ बर्ष मुनिका बालबालिकालाई इन्टरनेट चलाउन दिँदा अभिभावक निकै सावधान हुनुपर्दछ । बालबालिका चञ्चले तथा उत्सुक स्वभावका हुने हुँदा उनीहरूले गलतरूपमा इन्टरनेट प्रयोग गर्ने सम्भावना पनि रहन्छ । त्यसैले बालबालिकालाई इन्टरनेट चलाउन दिँदा अभिभावकको प्रत्यक्ष निगरानी हुनु जरुरी मानिन्छ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology