Thursday, April 14, 2011

मध्य र पूर्वी क्षेत्रमा चट्याङको जोखिम उच्च


अजय शर्मा
काठमाडौँ । नेपालको मध्य र पूर्वी भू-भाग चट्याङको अत्यधिक जोखिम क्षेत्र रहेको मौसम विज्ञान तथा पूर्वामानुमान शाखाले जनाएको छ ।
मौसम विज्ञान तथा पूर्वानुमान शाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले वायुमण्डलमा चट्याङ बन्ने उपयुक्त तापक्रम, आद्रता, सुक्खा हावा, घर्षण र वातावरणीय दबाब आदि मनसुन अघि र पछि सिर्जना हुने हुनाले चैत-वैशाख तथा असोज-कात्तिक महिनामा चट्याङ धेरै पर्ने बताउनुभयो ।
मौसमविद् श्रेष्ठले चैत-वैशाख तथा असोज-कात्तिक महिनामा अधिक मात्रामा चट्याङ पर्ने मुख्य कारणमा उक्त समयमा जमिन धेरै तात्ने हुँदा वातावरण अस्थिर हुने र बङ्गालको खाडी, गङ्गा, ब्रहृमपुत्रबाट पानीसहितको हावाको बहावका कारण मेघ गर्जन बादल सिर्जना हुने हुँदा चट्याङ पर्ने गरेको स्पष्ट पार्नुभयो ।
उहाँले मेघगर्जन बादलमा हुने विद्युतीय चार्जका कारण चट्याङ पर्ने बताउँदै 'क्युमुलोनिम्बस' बादलमा हुने 'थन्डरस्ट्रोम' प्रक्रियाले ठूलो हावाहुरी, आँधीबेहरी, असिनापात तथा 'टोर्नाडो', 'साइक्लोन' जस्ता विनाशकारी आँधीसमेत ल्याउने उल्लेख गर्नुभयो ।
"सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ, पृथ्वीमा बाह्रै महिना हरेक दिन हजारौँ चट्याङ परिरहेको हुन्छ तर मनसुन अघिपछि बादलको उचाइ धेरै हुने र अरू बेलाभन्दा धेरै चट्याङ पर्ने सम्भावना तीव्र हुन्छ", मौसमविद् श्रेष्ठले भन्नुभयो । उहाँले दुई वर्षअघि गरिएको एक अध्ययनमा प्रायः गरेर मध्य र पूर्वी नेपालको भू-भागमा चट्याङ पर्ने गरेको पाइएको बताउँदै विशेषगरी नेपालका पहाडी तथा भित्री मधेसमा बढी पर्ने गरेको पाइएको जानकारी दिनुभयो । मौसमविद् श्रेष्ठले प्रायःगरी माघ, फागुन, मङ्सिर र जाडोयाममा चट्याङ पर्ने प्रक्रिया कम हुने बताउनुभयो ।
उहाँले चट्याङ विद्युतीय तरङ्ग टिप्ने वस्तुमार्फत पर्ने हुँदा विशेषगरी अग्ला पहाड, घर र रूखमा धेरै पर्ने उल्लेख गर्नुभयो । मौसमविद् श्रेष्ठले दक्षिण एसियाली देशहरूमध्ये भारतको विहार तथा आसाम क्षेत्र र बङ्गलादेशमा चट्याङको अत्यधिक जोखिममा पर्ने भू-भाग रहेको बताउनुभयो । उहाँले मौसमका हिसाबले मनसुनको समयमा ४१ प्रतिशत, मनसुनपूर्व ४८ प्रतिशत, मनसुनको पूर्वार्द्धमा सात प्रतिशत र जाडोयाममा चार प्रतिशत चट्याङको सम्भावना रहेको बताउनुभयो ।
गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाका अनुसार २०६६ पुसदेखि २०६७ पुससम्ममा नेपालका विभिन्न स्थानमा ३९ पटक चट्याङ परेको छ । यसरी चट्याङ धेरै पर्ने स्थानमा धनुषा, सर्लाही, चितवन, इलाम, मकवानपुरमा क्रमशः नौ, पाँच र तीनपटक चट्याङ परेको तथ्याङ्क विभागसँग रहेको छ । २०६६ पुसदेखि २०६७ पुससम्मको अवधिमा परेको चट्याङबाट एक लाख २० हजार रुपियाँको आर्थिक क्षति भएको छ भने सातजनाले ज्यान गुमाएका छन् र दुईवटा चौपायाको मृत्यु भएको छ ।
सामान्यतः १४ हजारदेखि २५ हजार रुपियाँ खर्च लाग्ने अर्थिङ पनि ठूलाठूला घरले मात्र राख्ने र धेरैले नराख्ने गरेको इलेक्ट्रोनिक इन्जिनियर नवीनचन्द्र देवले बताउनुभयो । उहाँले नेपालमा जुनसुकै ठाउँमा पनि चट्याङ पर्ने हुनाले हरेक घरमा अर्थिङ आवश्यक पर्ने बताउँदै सस्तोमा अर्थिङ पर्ने तर अर्थिङको प्रक्रिया नपुर्‍याउँदा अर्थिङ परेका भौतिक संरचनामा समेत चट्याङ पर्ने गरेको उल्लेख गर्नुभयो ।
"यसलाई रोक्न सकिँदैन तर सावधानी अपनाउने हो भने यसले पुर्‍याउने क्षति केही मात्रामा रोक्न सकिन्छ । चट्याङ पर्दा वा आकाश गर्जंदा डराउने, आत्तिने काम नगरी कसरी जोगिने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्छ", विपद व्यवस्थापन शाखाका उपसचिव रुद्र खड्काले भन्नुभयो । उहाँले नेपाल वषर्ाजन्य प्रकोपको दृष्टिले ३१औँ तथा भूकम्पीय जोखिमका दृष्टिले ११औँ स्थानमा पर्ने बताउनुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology