Tuesday, March 15, 2011

दक्षता देखाउने अवसर नै पाएन रिकास्टले

अजय शर्मा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र -रिकास्ट)ले आर्थिक अभावका कारण केही वर्षदेखि अपेक्षाअनुरूप अनुसन्धान गर्न सकेको छैन ।

कुनै बेला विज्ञान प्रविधिको क्षेत्रमा मन्त्रालयकै हैसियतको रूपमा रहेको तथा नेपालकै उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा ख्यातिप्राप्त रिकास्ट यति खेर आर्थिक अभावका कारण सङ्कटग्रस्त बनेको छ । स्वदेशी प्रविधिको संरक्षण, उपयोग र विकासका साथै नेपालमा उपयुक्त हुने विदेशी प्रविधिको खोजतलास तथा त्यस्ता प्रविधिको हस्तान्तरणसम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको रिकास्टले आर्थिक अभावकै कारण विगत केही दशकदेखि सामान्यरूपमा वर्षभरि एक दुईवटा कामबाहेक उल्लेख्य काम गर्न सकेको छैन ।

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको स्थापना २०३४ साल भदौ २३ गते भएको थियो । यस अनुसन्धान केन्द्रको स्थापना हुनुअघि यसको सुरुआत हालको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको धरान क्याम्पसको विज्ञान अध्ययन संस्थानमा २०२८ सालमा भएको रिकास्टका कार्यकारी निर्देशक रमेश सिंहले बताउनुभयो ।

निर्देशक सिंहले अहिले केन्द्रमा अनुसन्धानका लागि कुनै बजेट नभएको उल्लेख गर्दै केवल प्राध्यापक तथा कर्मचारीहरूलाई तलब मात्र खुवाउने स्थितिमा रिकास्ट रहको बताउनुभयो । उहाँले स्वदेशी प्रविधिको खोजतलास एवं प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको सो अनुसन्धान केन्द्रले विगतमा ऊर्जा पुनः नवीकरण, प्राकृतिक उत्पादन, खाद्य प्रविधि, बाली विज्ञान र बायो टेक्नोलोजी, रसायनशास्त्र, वातावरण, निर्माण तथा भवननिर्माण र कृषिमा आधारित प्रविधिमा अध्ययन अनुसन्धानका क्षेत्रमा धेरै काम गरेको बताउनुभयो ।

सिंहले २०४६ सालभन्दा पहिले रिकास्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट निकै बजेट आउने हुँदा नेपालको स्थानीय व्यावहारिक प्रविधिको विकास अन्तर्गत नवीकरणीय ऊर्जा, खाद्य प्रशोधन, बायो टेक्नोलोजी जस्ता क्षेत्रमा निकै उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले रिकास्टले उत्पादन गरेको पानी घट्ट, सुधारिएको चुलो, सोलार क्याबिनेट ड्रायर, हावा मिल, सुधारिएको स्टोभ जस्ता प्रविधिको स्थानीयकरण गर्न सफल रहेको स्मरण गर्नुभयो ।

उहाँले रिकास्टसँग बायो डिजेल उत्पादन, डालेचुकबाट जुस निकाल्ने प्रविधि, स्याउको उचित भण्डारलगायतका धेरै अनुसन्धान क्षेत्र रहेको भए पनि बजेटको अभावमा ठूल्ठूला अनुसन्धान गर्न नसकिएको स्वीकार्नु भयो । यति हुँदाहुँदै पनि रिकास्टले अलैँची सुकाउने प्रविधि रकेट स्टोभ भट्टीको निर्माण कार्य सम्पन्न गरी तेह्रथुम, पाखि्रबास, इलामलगायतका क्षेत्रका किसानलाई रकेट स्टोभ बनाउने तालिमसमेत दिएको उहाँले बताउनुभयो । नेपालभित्र रहेका उद्योगहरूसँगको सहकार्यमा नेपाल सुहाउँदो प्रविधिको विकासका लागि गएको असार महिनामा नेपाली उद्योगी र प्राज्ञहरूको कार्यशाला गोष्ठी सम्पन्न गरेको निर्देशक सिंहले उल्लेख गर्नुभयो । उहाँले नेपालमा अनुसन्धानमा आधारित उद्योग नभएका कारण रिकास्ट जस्तो अनुसन्धान केन्द्रले राष्ट्रिय उद्योगको विकासमा आफ्नो दक्षता देखाउने अवसर नपाएको गुनासो गर्नुभयो ।

उहाँले रिकास्टमा हाल करिब ६० जनाको दरबन्दी रहेको बताउँदै तीमध्ये पाँच प्रतिशत अनुसन्धानकर्ता विदेश पढ्न गएका नफर्किएको उल्लेख गर्नुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology